पहाडसँग डराइरहेका नेम्वाङ
कवि श्रवण मुकारुङले मौखिक इतिहासको एक झलक सुनाए । विहारको सुपौल,
त्रिवेणीगन्जमा भोजपुरबाट गएका राईहरूको बसोबास रहेछ । पृथ्वीनारायण शाहको
राज्यविस्तार अभियानताका गोर्खाली फौजबाट लखेटिएका राईहरू त्यहाँ पुगेर
बसोबास गरेको तथ्य मौखिक इतिहासमा सुरक्षित भेटियो । कवि मुकारुङ त्यहाँ
पुग्दा छक्कै परे । मैथिली बोल्ने, भेषभूषा पनि मैथिल, हाउभाउ र जीवनशैली
पनि मैथिल, तर उनीहरूको समाजमा राई किरात संस्कृतिका केही विशेषता भने अझै
जीवित रहेछन् ।
उहिले एकपटक त्यहाँका राईहरू पुख्र्यौली थलो खोज्न हिँडेछन् । मैथिली
जीवनशैलीमा पूर्णतः ढलिसकेका मानिसहरू जब अजंगको पहाड अघिल्तिर पुगे,
उनीहरू डराए । पहाड चढ्न खोजे, चिप्लिएर लडे । समथर फाँटमा हुर्केका उनीहरू
पहाडमा हिँड्न नजानेपछि पल्ट्याङबाजी खाएर यसै फर्किए । पुख्र्यौली थलोको
मिथकलाई खुला आँखाले नहेरी उनीहरू फिर्ता भए ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पछिल्लो रूपले तिनै राईहरूको सम्झना
गराउँछ, जो पहाडसँग डराएर फर्केका थिए । चिटिक्क, सुकिला र हेन्डसम छन्,
नेम्वाङ । पञ्चायतकालमा विद्यार्थी आन्दोलनमा लागेका, ०३६ सालपछि वकालत
गरेर सफल वकिल बनेका, एमालेको अल्पमत सरकारका कानुनमन्त्री र दुइटै
संस्करणका संविधानसभामा सभाध्यक्षको पदमा पुगेका 'सफल' राजनीतिकर्मी हुन्,
नेम्वाङ । पञ्चायतकालीन न्यायाधीश बाबुको विरासतसमेत थामेका नेम्वाङलाई
कानुनका नौ सिङ हुन्छन् भन्ने पनि थाहा छ । त्यसैले भीषण राजनीतिक
ध्रुवीकरणको बीचमा उनले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने खेलको
पहिलो मोहरा
फ्याँके । प्रतिपक्षको अवरोधका बाबजुद उनले प्रश्नावली समिति पारित गराए र संविधानसभालाई कानुनी कुटिलतामा छिराए ।
अहिले नेम्वाङ विवादमा परेका छन् । पहिलो संविधानसभा विघटन हुँदाको उनको
भूमिका र अहिले सत्तापक्षको हठलाई शिरोधार्य गर्ने उनको कदमको तुलना गर्दा
नेम्वाङ सभाध्यक्षको हैसियतसँगै डराइरहेझैं देखिन्छन् । पुख्र्यौली थलोसम्म
पुग्न नसकेका ती अज्ञात मानिसहरूझैं नेम्वाङ पनि आफैं अध्यक्ष रहेको
संविधानसभारूपी पहाडसँग डराइरहेका त होइनन् ?
बदलिँदो समाजको मानचित्र
नेम्वाङलाई राम्रोसँग थाहा छ, अढाई सय वर्षको इतिहासमा पहिलोपटक नेपालमा
राज्य पुनर्संरचनाको मुद्दा उठेको छ । अन्तरिम संविधान २०६३ ले राज्यको
चरित्र विभेदकारी छ, यो चरित्र बदल्नुपर्छ भनेर स्वीकार गरेको छ । सात
सालदेखि सुरु भएको राज्यको चरित्र बदल्ने राजनीतिक अभियानले पहिलोपटक
स्पष्ट मानचित्र बनाएको छ । यसबीच धेरै सशस्त्र, निशस्त्र विद्रोह र
आन्दोलनहरू हुनुको गुह्य तत्त्व पनि राज्य सबैको साझा भएन भन्ने नै हो ।
त्यसैले राज्यको चरित्र बदल्नकै लागि संविधानसभाको जन्म भयो र सभाध्यक्ष
भए, नेम्वाङ ।
सिद्धान्ततः सभाध्यक्ष तटस्थ हुन्छ । तर राज्यको चरित्र बदल्ने भीषण
संघर्षमा कोही पनि तटस्थ हुनसक्दैन । त्यसैले पहिलो संविधानसभा विघटन हुँदा
नेम्वाङले बैठकै बोलाएनन् । अहिले बहुमतिय प्रक्रियाबाट संविधान जारी गर्न
नेम्वाङ सभाध्यक्ष पदको दुरूपयोग गरिरहेका छन् । यस्तो असंगत भूमिकामा उनी
किन देखिए ? यसको जवाफ खोज्न किन राज्यको चरित्र बदल्नुपर्ने भएको हो,
त्यसको जवाफ खोज्नुपर्छ ।
राज्यको चरित्र किन विभेदकारी भयो ? किनभने यसले राणाकालदेखि संस्थागत
भएको जातिवादी सिद्धान्तको विरासत बोकेको छ । समुदायको हिसाबले उच्च जातको
बर्चस्व स्थापित छ । अर्थराजनीतिक हिसाबले उच्च जातको पनि सीमित परिवार र
केही खान्दानका मानिसहरू नै शक्तिशाली छन् । उनैले मात्र फाइदा पाउने
हिसाबले यहाँको अर्थतन्त्र र राजनीतिक व्यवस्था चलेको छ । त्यसैले अधिकांश
जनसंख्या राज्यको मूलधारभन्दा बाहिर परेको छ । शिक्षा, स्वास्थ्य, स्थानीय
सत्ता सबैतिर जनजाति, दलित, महिलाजस्ता समुदाय सिमान्तकृत छन् । विभाजित
मानसिकतामा हुर्केको समाजले सामुहिक प्रयत्नमा पुँजी निर्माण वा रचनात्मक
'व्यक्ति' निर्माण गर्न सकेन ।
के नयाँ संविधानमार्फत यस्तो राज्य बनाउन सकिन्छ, जसलाई समाजलाई जुझारु
बनाओस् ? प्रा. पिताम्बर शर्मा भन्छन्- 'सकिन्छ, तर राज्यमा जनताको
प्रत्यक्ष पहुँच स्थापना गरेर मात्र ।' पहिचान भनेको जातीय, क्षेत्रीय,
सामुदायिक आदि विभेदलाई सम्बोधन गर्ने औजार हो । तर यो नामको कुरामात्र
होइन, प्रादेशिक र स्थानीय सत्तामा विविध समुदायको पहुँच पुर्याउने र नयाँ
राज्य निर्माणमा जुट्ने अवसर प्रदान गर्ने अवधारणा हो । नयाँ राजनीतिक
व्यवस्थाले नयाँ सामाजिक, आर्थिक वातावरण बनाउँछ, अनि त्यसैले मान्छे र
समाजको चरित्र बदल्छ । तर त्यसरी राज्य पुनर्संरचना गर्न किन सबै पक्ष तयार
छैनन् ?
नेम्वाङले देखाएको पक्षधरता यहींनेर प्रस्ट हुन्छ । लिम्बु समुदायका सदस्य
हुँदाहुँदै पनि नेम्वाङ सम्भ्रान्त परिवारमा हुर्किए । त्यसैले अरु बेला
सहमतिको सादा कुरा गरेर पन्छिँदा-पन्छिँदै पनि निर्णायक क्षणमा उनी
सत्ताधारी अनुहारमा प्रकट भए । उनी भन्न सक्छन- संक्रमणकाल लम्बिएका कारण
विकास अवरुद्ध भयो, त्यसैले संविधान जारी गरिहाल्नु जरुरी छ । एकथरी विकास
सिद्धान्तका अनुयायीले यसो भनिरहेकै छन् । तर उनीहरूको विकास सिद्धान्त
पञ्चायतकालीन छ । मेरी डेसेनको एउटा लेख 'इन द नेम अफ विकास' यहाँ
सान्दर्भिक हुन्छ । डेसेनले पञ्चायतकालमा उरालिएको विकासको नारा कसरी
काठमाडौंका केही सम्भ्रान्त खान्दान, व्यापारी र विकासको तथ्यांक केलाउने
तथा योजना बनाउने विलासी बुद्धिजीवीको मात्र फाइदामा पुगेर टुंगियो भन्ने
राम्रो व्याख्या गरेकी छन् । बहुदलकालमा त्यसैलाई निरन्तरता दिइयो र झन्
त्यसमा खुल्ला बजार अर्थनीति थपेर अराजक अर्थतन्त्र निर्माण गरियो ।
परिणामस्वरूप आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा हावामहल जस्तो भयो र मुलुक
दाताहरूको क्रीडास्थलमा परिणत भयो । अर्कोतिर बजार सर्वथा मनपरीतन्त्रमा
चलेको छ ।
यसर्थ राज्यस्तरमा विभेदलाई संस्थागत गरेर केही कुलिनको हातमा राज्यको
स्रोतसाधन एकलौटी हुनु नै चालु विकास सिद्धान्तको मर्म हो । त्यसैले यसले
ठूला परियोजना, बाटो, बिजुलीको गफमात्र बेच्यो, तर जनताको शक्तिलाई चिनेन ।
जनतालाई अज्ञानी, अविकसित तथ्यांकको अंकमात्र बनायो । फलस्वरूप न
राष्ट्रिय पुँजी निर्माण भयो, न जनताको उत्पादकत्व र ज्ञानको उपयोग गर्न
सक्यो । यही कुलिनतन्त्रको राजनीतिक अभिव्यक्ति एकात्मक शासन प्रणाली हो ।
चाहिएको फगत विकास होइन, प्रगति हो । प्रगतिका दुई पहलु छन् । एक, जनताको
बौद्धिक, सामाजिक प्रगतिमार्फत रचनात्मक, उद्यमी र नयाँ सोचको आविष्कार
गर्न सक्ने समाज । दुई, जनताको प्रगतिमा समाहित हुँदै राज्यले गर्ने र गर्न
प्रेरित गर्न भौतिक विकास । यी दुई चिज मिलेर मात्र कुनै पनि देश प्रगतिको
बाटो हिँड्न सक्छ । यस्तो प्रगति हासिल गर्न समाज सर्वप्रथम परम्परागत
विभेदको जञ्जालबाट मुक्त हुनुपर्छ । सम्पूर्ण जनताको हात र बुद्धि एकै
ठाउँमा नमिसाई कुनै मुलुक बन्दैन । त्यसैले हिजोसँग बानी परेको विचार र
आजसँग आदत बसेको दिनचर्यामा खोजेर नेम्वाङले भोलिको बाटो भेट्ने छैनन् ।
राष्ट्रपतिको नक्सा कदम
लेखक/पत्रकार किशोर नेपाल भन्छन्- वाग्मतीको पानी पिएपछि नियत बदलिन बेरै
लाग्दैन । वाग्मतीको पानी पिउनुको मतलब हो, काठमाडौंमा परम्परादेखि चलिआएको
शासनको चरित्र घुट्याउनु । विद्रोह र आन्दोलनको बाटो हुँदै वाग्मतीको पानी
पिउन काठमाडौं आइपुग्ने प्रत्येकजसो नेता वा राजनीतिकर्मीलाई परम्परागत
शासनले नै पिइदिएको इतिहास छ, हाम्रो । चलनचल्तीको शासनमै पानी पिउने
कर्मचारी, बुद्धिजीवी, धनवान, ज्ञानवान सबैको चरित्र काठमाडौंले कायापलट
गरिदिएको छ । माओवादीहरूलाई पनि लगभग पिइसकेको छ, वाग्मतीले । केवल राज्य
पुनर्संरचनाको मुद्दामा माओवादी धिकिर-धिकिर बाँचेको छ ।
के वाग्मतीको पानी अझै उस्तै शक्तिशाली छ ? के केही कर्ता, अभियन्ता र
विद्रोहीहरूलाई पिएर राज्यको परम्परागत चरित्र बचाउन सक्छ, वाग्मतीले ? अब
त्यसोचाहिँ सम्भव छैन । वाग्मती स्वयम् यति निरीह भैसकेको छ कि यसलाई केपी
ओलीले पनि बचाउन सक्ने सम्भावना छैन । किशोर नेपालकै पुस्तक 'शक्तिको
अवतरण' पढ्दा थाहा हुन्छ- माओवादी विद्रोहले गाउँ-गाउँबाट सम्भ्रान्त
सत्ताको चरित्र बदलिसकेको छ । शक्ति मात्र अवतरण भएर माथिबाट तल पुगेको
होइन, तलका जनतालाई बलियो बनाउने विचार शक्तिशाली भैसकेको छ ।
गणतन्त्र घोषित हुनु वास्तविक गणतन्त्र बन्नु होइन । सम्भ्रान्त सत्ताले
राजा गुमाए पनि शक्ति गुमाइसकेको छैन । त्यही पुरानो सत्ताको चरित्रले
कांग्रेस-एमालेमा भेदन गरेको छ । त्यसैको चरित्रले संक्रमणकाललाई बेलाबेला
'वाइल्ड पोलिटिक्स'मा फँसाएको छ । कहिले सेनापति आफ्नो सीमाबाट बाहिर
निस्केर 'वाइल्ड प्ले' गर्छन्, कहिले राष्ट्रपति संवैधानिक दायराबाट
फुत्केर हाहाकार गर्छन् । कहिले संविधानसभाको आयु तोक्न सर्वोच्च अदालत
राजनीतिक मैदानमा उत्रन्छ, कहिले प्रधानन्यायाधीश एकैपटक प्रधानमन्त्री
बन्छन् । अहिले राष्ट्रपतिकै नक्सा कदममा हिँड्न सभाध्यक्ष नेम्वाङ लागेका
छन् ।
अहिले संकट परेको राजनीतिमा होइन, सत्ताको पुरानो चरित्रमा हो । परम्परागत
सत्ताको शक्ति र वाग्मतीको पानीमा उस्तै तागत छ । त्यसले कानुन्ची तर्क
बनाउँछ र अराजक खेल खेल्छ । त्यसैले राष्ट्रपतिको नक्सा कदममा चल्ने
नेम्वाङको हठ अराजकताको निम्तो हो । यस्तो लाग्छ, सभाध्यक्ष नेम्वाङ आफैं
संविधानसभासँगै डराइरहेका छन् । तर शक्तिको अवतरण भने भैसकेको छ ।
संविधानसभाभित्र राज्यको चरित्र बदल्ने अभियानले एउटा निष्कर्ष पाएन भने यो
अराजक खेल तल समाजमा जाने निश्चित छ ।
वाग्मतीको पानीमा यति शक्ति त अझै बाँकी छ कि नेम्वाङलाई अचानक शक्तिशाली
भएको भ्रम दिइरहोस् । तर काठमाडौंमा प्रदूषित भएको वाग्मती ताम्सालिङ हुँदै
बगेर मधेस पुग्दामात्र सफा हुने दृष्टान्तलाई उनले ख्याल गर्न आवश्यक छ ।
अहिले पुरानो सत्ता पुरै मक्किसकेको छ र नयाँ सत्ताको रचना नभए अनेकन
विद्रोहको ज्वारभाटा उठ्ने प्रस्ट संकेतहरू देखिन्छन् । नेम्वाङचाहिँ
वाग्मतीको नशामा झुमिरहने हो र आफैंले प्रतिनिधित्व गर्ने संविधानसभाको
वास्तविक सपनासँग डराउने हो भने पुरै मुलुक अराजक खेलमा पुग्नेछ ।
काठमाडौंको शक्तिखेलमा बानी परेका नेम्वाङ त्रिवेणीगन्जका अज्ञात राईहरूझैं
पहाडसँग डराएर रित्तै हात फर्किनेछन् ।