Saturday, November 21, 2015


शुक्रबारको अंकमा छापिएको समाचारमा मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधर र पत्रकार तुलानारायण साहलाई भूलबस उद्‍धृत गरिएको अन्नपूर्ण पोस्टले स्वीकार गरेको छ।

यो पनि पढ्नुस्ः विवादमा अन्नपूर्ण पोस्टको समाचारः पद्‍मरत्नप्रति अन्नपूर्ण किन पूर्वाग्रही?

शनिबार पहिलो पृष्ठमा प्रष्टीकरण प्रकाशित गरेर अन्नपूर्णले उनीहरुको अभिव्यक्ति अरु नै कुनै जनजाति नेताको भएको दाबी गरेको छ।

हेर्नुस् अन्नपूर्णमा प्रकाशित स्पष्टीकरणः

annapurnapost-newsअन्नपूर्णले स्रोतलाई उद्‍धृत गरेर तुलाधर र साहका भन्दै छापेका अभिव्यक्ति उनीहरुका होइनन्, बरु अरु नै व्यक्तिका हुन्,  भूलबस उद्‍धृत भयो भनेर उम्किन खोजेको छ। समाचारकै आधारमा शुक्रबार दिनभर पद्मरत्न तुलाधरलाई धेरैले गाली गरे। उनलाई देश निकाला गर्नुपर्छ सम्म भनियो सामाजिक सञ्जालमा। यसको बारेमा अन्नपूर्णले माफी माग्नुपर्छ कि पर्दैन? व्यक्तिको इज्जतमा आँच आउने काम मिडियाबाट भयो भने सामान्य स्पष्टीकरण छापेर उक्त मिडिया उम्कन मिल्छ कि मिल्दैन? यस्तो गर्ने मिडियामाथि कारबाही हुनुपर्छ कि पर्दैन? यो घटनाले यस्ता बहसलाई पुनः उठाएको छ।
स्पष्टीकरणमा छापिएको भाषा हेर्दा थाहा हुन्छ, अन्नपूर्णको यो सामग्री पूर्वाग्रही नै थियो। स्पष्टीकरणको अन्तिम वाक्य हेर्नुस्। लेखिएको छ- २०४५ सालको नाकाबन्दीको विरोध गर्न नयाँ दिल्लीसम्म पुगेका तुलाधर सांग्रिलाको भोजमा यी दुवै अभिव्यक्ति आउँदा भने मौन रहे।
यो वाक्यले पनि तुलाधरलाई नै आक्रमण गर्न खोजेको देखिन्छ। अघिल्लो दिन तुलाधरले भनेका हुन् भन्ने, भोलिपल्ट होइन, अरुले नै भनेका हुन्, उनी त चुपचाप सुनेर बसेका थिए भन्ने कस्तो पत्रकारिता हो यो?
को थिए ती जनजाति नेता जसले केरुङ बन्द गर्छु भने र भारतले नेपालमा पूर्ण रुपमा नाकाबन्दी गर्नुपर्छ भने?  अन्नपूर्णलाई उसको समाचार स्रोतले झुक्यायो वा हामी आम पाठकलाई अन्नपूर्णले? यो सामान्य त्रुटीमात्र हो वा योजनबद्ध आक्रमण? पूर्वाग्रही ढंगले समाचार सामग्री छाप्ने र एउटा स्पष्टीकरणका भरमा उम्कने काम कहिलेसम्म भैरहने हो?                           

No comments:

Post a Comment